2022-07-21 14:59:32
भक्तपुरमा सापारु (गाईजात्रा)को तयारीमा संस्कृतिकर्मीहरूसँग छलफल गरियो ।
ख्वप श्रावण ५ गते २०७९
भक्तपुर नगरपालिकाले २०७९ सालको सापारु (गाईजात्रा)मा प्रदर्शन हुने परम्परागत तथा आधुनिक सांस्कृतिक विधाहरूको तयारीस्वरुप छलफलका लागि बिहीबार संस्कृतिकर्मीको भेला गरेको छ ।
कार्यक्रममा नगरका दाफा, भजन, सांस्कृतिक टोलीको उपस्थिति रहेको उक्त कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले कोभिड महामारीका कारण दुई वर्ष सापारु पर्व औपचारिकतामा सीमित गर्नुपरेको बताउनुभयो । उहाँले यस पटकको गाईजात्रा सभ्य, व्यवस्थित र प्रतिस्पर्धात्मक ढंगले सञ्चालन गर्ने उद्देश्यले जात्रासँग सम्बन्धित नगरवासीसँग छलफलको लागि भेलाको आयोजना गरेको बताउनुभयो ।
यो वर्षको सापारुमा बढीभन्दा बढी सांस्कृतिक गतिविधिहरु प्रदर्शनीका लागि नगरबासीहरु उत्साहित हुनुपर्ने बताउँदै गाईजात्रामार्फत जनतालाई राजनीतिक र सामाजिक रुपमा सचेत बनाउँदै लानुपर्नेमा प्रमुख प्रजापतिले जोड दिनुभयो ।
कार्यक्रममा नवनियुत्त भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले जात्रा र संस्कृति परम्परा देखि चल्दै आएको हाम्रो सभ्यता भएको हुनाले यसलाई निरन्तरता दिई संरक्षण र प्रवद्र्धनमा हामी सबै एकताबद्ध भई अगाडि बढनु पर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले नजिकिँदै गरेको गाथामग चह्रे र सापारुमा आउन सक्ने विकृतिले नकारात्मक सन्देश जाने भएकोले सबैजना सचेत हुनुपर्ने बताउनुभयो ।
छलफल कार्यक्रममा विभिन्न विधाका संस्कृतिकर्मीहरूले संस्कृति संरक्षणमा भक्तपुर नगरपालिकाले गरिरहेको कार्यहरू प्रशंसनीय रहेको बताएका थिए । उहाँहरुले नयाँ कलाकारहरुलाई परम्परागत नाँच सिकाउन सुरु गरिसकेको, भक्तपुर महोत्सव सञ्चालन गर्नुपर्ने, सांस्कृतिक गुरुहरूको सम्मान कार्यक्रमलाई निरन्तरता दिनुपर्ने, परम्परागत बाजाहरुको संरक्षण गर्नुपर्ने, लोप भएका संस्कृति तथा बाजागाजा उत्थान गर्न आर्थिक सहयोगको खाँचो रहेको, पर्यटकहरुलाई आकर्षण गर्न सांस्कृतिक प्रदर्शनी गर्नुपर्ने, सापारु रुटमा केबल तारहरुको उचित व्यवस्थापन गर्नुपर्ने घिन्ताङघिसी नाचमा देखिएका विकृति रोक्न नगरपालिकाले पहल गर्नुपर्ने, लगायतका धारणाहरु व्यक्त गर्नुभएको थियो ।










0 Comments