2022-07-21 15:59:09
चौतारा बजार नजिक रहेको भुत छाँगा (भुत झरना) एकाएक चर्चामा टिकटक बनाउनेको भिड ।
सिन्धुपाल्चोक श्रावण ५ गते २०७९
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा बजारबाट नजिकै रहेको भुत छाँगा (भुत झरना) अहिले एकाएक चर्चामा आएको छ । बजारबाट नजिक जम्मा ६ किलोमिटरको दुरीमा रहेको उक्त झरना केहि वर्ष अघिसम्म गुमनाम रहेको थियो । यो झरना विशेषगरी लकडाउनको समयमा एकाएक चर्चामा आएको आएको हो । पछिल्लो समय यहाँ बाहिरिय तथा आन्तरिक पर्यटकहरुको लागि हाइकिङको लागि समेत चर्चामा आउन थालेको हो । आजभोली बिशेष गरि टिकटक बनाउने युवावर्गहरुदेखि निवृत्त जिवन विताइरहेका पाका उमेरका व्यक्तिहरुका लागि समेत हाइकिङ गर्न जाने थलो बनेको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ७ मा रहेको भुत छाँगामा व्यस्त दैनिकीबाट फुर्सत निकालेर मानिसहरू एकैछिन भए पनि झरनामा रमाएर फर्कने गरेका छन् । शनिबार वा अन्य बिदाको दिन दैनिक सयौ युवायुवती यहाँ आएर फोटो खिच्ने, टिकटक बनाउने र झरनामा रमाउने गर्दछन् । नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको यस झरनामा पुगेर रमाउन पाउँदा आफूले आनन्दको महसुस गर्न पाएको पर्यटकहरु बताउछन् ।
वरिपरि हरियो जंगलले घेरिएको गहिरो ठाउँ, कारिव ८० फिटमाथिबाट खसेको पानीको फोहोरा र सानो बगरले जो कसैलाई पनि लोभ्याउँन्छ र आनन्द तुल्याउँछ । यो झरना बिभिन्न सामाजिक सञ्जालको माध्यमबाट छाँगाको प्रचार गर्न थालेसँगै आन्तरिक पर्यटकको आकर्षण बढेको हो । अग्लो भीरबाट पहराको सहारा लिएर लडीबुडी खेल्दै झर्ने झरना हेर्दा निकै मनमोहक, आकर्षक र सुन्दर देखिन्छ । अझ घाम लागेको समयमा इन्द्रेणी देखिने झरनाले पर्यटकलाई लोभ्याइरहन्छ । पहाडको टुप्पोबाट जमिनतिर एकनासले झरि रहने चिसो पानीमा भिज्न पाउँदा निकै आनन्द आउने पर्यटकहरुको अनुभव छ । काठमाण्डौंबाट हाइकिङका लागि भुत छाँगा आइपुगेका द वाकर्स ग्रुपका सदस्यहरुले यस ठाँउको राम्रोसँग प्रचारप्रसार र प्रवद्र्धन गर्न सकिए भविष्यमा राम्रो पर्यटकीए स्थल बन्ने बताए ।
पैदल यात्रा तथा साइकलिङको लागि समेत उत्कृष्ट गन्तव्य बन्न सक्ने झरना काठमाण्डौबाट ९३ किलोमिटरको सडक यातायात साधनको यात्रा पछि करिव ५ सय मिटरको पैदल यात्रामा पुग्न सकिन्छ । झरनासम्म पुग्नका लागि बागमती प्रदेश सरकारको लगानीमा सिँडी निर्माण गरिएको छ । भुत छाँगालाई नगरपालिकाले आफ्नो पर्यटकीय गन्तव्यको सुचीमा राखे तापनि विकासको लागि ठोस कार्ययोजना बनाएको छैन । यहाँ आउने अधिकांस पर्यटक चौतारामा रहेको होमस्टे तथा होटलहरुमा समेत बास बसेर चौतारा नजिकैको गौरती मन्दीर तथा हजार सिडिको यात्रा गर्दै बुद्धपार्कको समेत अवलोकन गर्न पुग्ने गरेका भुतछाँगा पर्यटकीय विकास समितिका अध्यक्ष निरञ्जन थापा बताउँछन् । यि क्षेत्र अहिले भर्जिन पर्यटकीय गन्तव्यको रूपमा विकास हुन थालेको छ । खाना खाजा खाने स्थल, पिकनिक स्पोर्ट बनाएर थप व्यवस्थित गनर्् पर्ने यहाँ आउने गरेका आन्तरिक र बाह्य पर्यटकले चाहना राख्ने गरेका छन् । यो ठाउँ प्राकृतिक सुन्दरताले पनि अत्यन्त आकर्षक रहेकाले यसलाई आन्तरिक पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना देखिन्छ ।
स्रोत सिन्धुपाल्चोकबाट दिपक खत्रीको











0 Comments