हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर भाद्र ३ गते २०८०
आज नागपञ्चमी पर्व परम्परा अनुसार घरको मूलढोकाको माथि नागको तस्वीर टाँसी पूजार्चना गरेर  मनाउँने गरिन्छ। यसरी पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिन्छ त्यसैले आजको दिन नागको बिशेष पूजा गर्ने गरिन्छ। भक्तपुरमा थालाछेँ स्थित पोखरीमा स्थापना गरेको नागलाई आज पूजा गरि दुध चाढाउने परम्परा छ । 

नाग पूजाको प्रचलन वैदिक कालदेखि नै शुरु भएको मानिन्छ । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ त्यसैले नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको संस्कृतिविदहरुको भनाई छ । वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएको मानिन्छ । त्यस्तै भगवान शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगववनलाई नागको रुपमा मान्ने गरिएको हो ।

श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको पाईन्छ भने विष्णुको नवौंँ अवतारका रुपमा जन्म लिनुभएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रुपमा सर्पको आकृति रहेको हुन्छ । त्यस्तै मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ । त्यसैले पनि आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायत घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).