2024-06-30 09:50:50
अनुशासित, कर्तव्यनिष्ठ र इमान्दार नागरिक उत्पादन गर्न स्काउटिङ्ग शिक्षा अपरिहार्य
भक्तपुर असार १६ गते २०८१
नेपाल स्काउट अन्तर्गत स्थानीय स्काउट कार्यालय भक्तपुरको आयोजनामा शनिवार स्काउट मास्टर भेलाका साथ समीक्षात्मक अन्तरक्रिया कार्यक्रम भक्तपुरमा सम्पन्न भएको छ । कार्यक्रममा अनुशासित, कर्तव्यनिष्ठ र इमान्दार नागरिक उत्पादन गर्न स्काउटिङ्ग शिक्षा अपरिहार्य भएकोमा जोड दिएको थियो ।
कार्यक्रममा नेपाल स्काउटका पूर्व राष्ट्रिय सचिव रामगोपाल कर्माचार्यले समाजलाई अनुशासित र स्वयंसेवी बनाउनका लागि स्काउट पाठ्यक्रमको व्यवस्था गरी उमेर अनुसार शैक्षिक क्रियाकलाप बनाएको बारे समाजलाई जानकारी दिनुपर्ने बताउनुभयो । भक्तपुरमा स्काउटिङ्ग गतिविधिलाई थप सक्रिय पार्ने हेतुका साथ भएको समीक्षात्मक अन्तरक्रिया कार्यक्रममा सदस्यता वृद्धि आयुक्त पूर्ण दुवालले स्वागत तथा कार्यक्रमको औचित्यतामाथि प्रष्ट पार्दै स्काउटिङ्ग क्रियाकलापमा एकरुपता ल्याउनु आवश्यक रहेको चर्चा गर्नुभयो ।
स्काउटलाई शैक्षिक अभियानका रुपमा अगाडि लान विद्यालय व्यवस्थापन र अभिभावकलाई सचेत पार्नुपर्ने आवश्यक रहेको बताउँदै उहाँले दैवीप्रकोपलगायतका समयमा स्काउटले आफू पनि बचेर अरुलाई बचाउन सक्ने भएकाले यसको औचित्यताका बारेमा प्रचार प्रसार गर्न अझै आवश्यक भएको धारणा राख्नुभयो ।
स्थानीय परिषद सदस्य तथा वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले विद्यालयहरुमा स्काउट शिक्षकहरु अतिरिक्त क्रियाकलापमा स्काउट मास्टर नै सक्रिय हुने गरेको दृष्टान्त प्रस्तुत गर्दै स्काउट शिक्षालाई जीवनपद्धतिसँग जोड्नु पर्ने आवश्यकता औंल्याउँनुभयो ।
स्थानीय स्काउट सदस्य सचिव रामेश्वर मचामसीले नगरपालिका, विद्यालय र स्काउट कार्यालय मिलेर स्काउटको सदस्यता वृद्धि गर्दै लैजानुपर्ने बताृउँदै विद्यालयका प्रिन्सिपलहरुसँग छलफल गरी यसलाई थप विस्तार गर्न सके समाजमा इमान्दार र राष्ट्रभावले ओतप्रोत नागरिक उत्पादन हुने धारणा राखेका थिए । स्थानीय स्काउट आयुक्त वालकृष्ण बनमालाको सभापतित्वमा भएको उक्त कार्यक्र्रममा डा.सरोजकुमार सुवाल, रविन्द्र बासुकला, राष्ट्रिय परिषद सदस्य रत्ना चवाल, राष्ट्रिय प्रशिक्षक अच्युत प्रजापति, सहायक राष्ट्रिय प्रशिक्षकहरु सीता त्वानावासु, रुविना छुस्यावाग, राजेस गाइँजु, पवनकुमार बल्ललगायतले विभिन्न रचनात्मक सुझावहरु दिएका थिए ।











0 Comments