2021-01-12 00:46:16
‘पल्सर स्पोर्टस् अवार्ड’ मंगलबार प्रदान गरिने
सत्रौँ संस्करणको ‘पल्सर स्पोर्टस अवार्ड’ आगामी मंगलबार वितरण गरिने भएको छ। आयोजक नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)ले ‘पिपल्स च्वाइस’, वर्ष पुरुष, महिला, युवा र वर्ष प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरिसकेको छ।
‘पिपल्स च्वाइस’ विधातर्फ पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केट बलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी मनोनयनमा परेका छन्। यस्तै वर्ष पुरुषको मनोनयनमा फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, करातेका मण्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ परेका छन्।
यसैगरी वर्ष महिलातर्फ करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरिका सिंह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङ मनोनयनमा परेका छन्। वर्ष युवा खेलाडीतर्फ भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकी सिना लिम्बू मादेन, गल्फका सुवास तामाङ, जुडोकी पुनम श्रेष्ठ र तेक्वान्दोका भूपेन श्रेष्ठ मनोनयन परेका छन्।
यस्तै वर्ष प्रशिक्षकतर्फ उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, तेक्वान्दोका नवीन श्रेष्ठ, बक्सिङका प्रकाश थापामगर र पौडीका शङ्कर कार्की मनोनयनमा परेका छन्। मञ्चका सचिव एवं खेलाडी छनोट समितिका संयोजक गोविन्द रेग्मीका अनुसार वर्ष पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन्। अन्य विधाका विजेतालाई जनही रु ५० हजारसहित पुरस्कृत गरिने छ।











0 Comments